Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

नासोको सुरक्षा

December 2, 2014 by admin

हिमाल खबरपत्रिका (१४ मंसीर, २०७१) बाट

लुम्बिनीलगायत सम्पूर्ण कपिलवस्तु–नवलपरासी बौद्ध भूमि रक्षाका लागि नेपालीले पहिले त यस स्थलको ऐतिहासिकता बुझ्नुपर्‍यो, अनि शाक्यमुनि बुद्धको सन्देश मनन् गर्नुपर्‍यो।

लुम्बिनी परिसर विश्व सम्पदा भन्नुको अर्थ यो नेपाल र नेपालीको मात्र नभई पूरै पृथ्वीवासीको सम्पत्ति हो। नेपालले नासोको रूपमा पाएको लुम्बिनीलाई बजारीकरण, राष्ट्रवादीकरण तथा सामाजिक र वातावरणीय अतिक्रमणबाट बचाउनु नेपाली राज्य र जनताको वास्तविक धर्म हो। आज उजाड र विपन्न बसोबास क्षेत्र देखिन पुगेको यस क्षेत्रमा ३० शताब्दीअघि राम्रै अर्थतन्त्र तथा अग्रगामी शहरी सभ्यता रहेको हुनुपर्दछ, जसबाट यहाँको अध्यात्मिक चिन्तन सम्भव रह्यो र बुद्धत्व प्राप्त व्यक्तिको खोजी भयो। र, त्यो अध्यात्मिक माग परिपूर्ति गर्न कपिलवस्तु क्षेत्रमा ‘बुद्ध’ कहलिने तीन ऐतिहासिक व्यक्तित्वको जन्म भयो― क्रकुछन्द बुद्ध, कनकमुनि बुद्ध तथा शाक्यमुनि बुद्ध।

आज यो दिव्यभूमिमा गरीबभन्दा गरीब जनता, विशेषगरी मुसलमान समुदायको बाहुल्य छ। लुम्बिनीको अध्यात्मिक–ऐतिहासिक महत्वको पहिलो लाभांश कसैको हातमा पर्नुपर्छ भने त्यो यी स्थानीयकै हात हुनुपर्दछ। यसो गर्नुमा मानवीयता पनि छ, व्यावहारिकता पनि। विपन्न स्थानीय जनताको हेरचाह बेगर ‘लुम्बिनी विकास’ सम्भव हुँदैन पनि।

अध्यात्मिक प्रतिरक्षा

नेपालमा शान्ति फिर्ता आएको छ, राजनीति र अर्थतन्त्रको सामान्यीकरण पनि हुँदैछ। विश्वभरिका बौद्धमार्गी र विशेषगरी शाक्यमुनिको खोज गर्ने चिनियाँ नागरिक; वर्षेनि लाखौंको संख्यामा लुम्बिनी उत्रन तम्तयार छन्। छिट्टै नै तीर्थालु र पर्यटकको घुइँचोमाझ् लुम्बिनीको अध्यात्मिकताको बचाउ गर्न हम्मे हुनेछ, किनकि मानवसागर उर्लिने ठाउँमा महँगो वा सस्तो, बजारियापनले ढाक्छ नै। चिन्तन–ध्यानको थलो लुम्बिनी परिसरमा बदलिंदो आवागमनका साथ बौद्ध सम्प्रदाय–उपसम्प्रदायबीचको प्रतिस्पर्धा ह्वात्तै बढ्नेछ र लुम्बिनी एक मनोरञ्जनको ‘डिस्निल्याण्ड’ बन्नेछ, हामीले ‘लुम्बिनी विकास’ मा ध्यान पुर्‍याएनौं भने।

लुम्बिनीबाट स्थानीय, रूपन्देही जिल्लावासी, मध्य नेपाल तथा पूरै राष्ट्रले लाभ त लिनै पर्दछ, आधुनिक युगमा यस सम्पदाको आर्थिक कमाइको सन्दर्भ बिर्सन मिल्दैन। जेरुसलेम, बेथलेहेम, मक्का–मदिना, बनारस वा क्योटो शहरले जस्तै लुम्बिनीले पनि पैसा कमाउँछ तीर्थालु र पर्यटकबाट। तर आम्दानीको होडमा बौद्ध सन्देशमाथि कति घात पर्ला र कति बचाउन सकिएला, यहीं छ अहम् प्रश्नचिह्न।

पञ्चायतकालदेखि नै लुम्बिनी विकासलाई जुन विदेशीले जति दिन्छ लिंदै गर्दा संरचनागत विकृतिहरू पनि भित्रिंदै आएको हो। यद्यपि, धेरै बिग्रिसकेको छैन अहिलेसम्म। यसको कारण हो– जापानी वास्तुविद् स्व. केन्जो टांगेको ‘लुम्बिनी मास्टरप्लान’। यस गुरुयोजनाले ३ह१ माइलको लुम्बिनी गार्डनभित्र सुरक्षित क्षेत्र छुट्याइदिएको छ। तर पनि जानी या नजानी मापदण्ड बाहिर जाने काम बेलाबखतमा भएकै छ।

चार दशकमा लुम्बिनी बाटिकामा सिद्धार्थ गौतमको पालाको (मामाघर देवदह र घर कपिलवस्तुबीचको) जंगल झ्ल्काउने रूख–बिरुवा राम्ररी हुर्केको हुनुपर्दथ्यो। तर अधिकांश सिसौ रोपिएकोले रैथाने वृक्षको खडेरी छ यहाँ, जसले शाक्यमुनिको सम्झ्नालाई आदर गर्दैन। लुम्बिनी परिसर बाहिर भए पनि यहाँको वास्तु र वातावरण खल्बल्याउँदै उभिएको छ– ‘शान्ति स्तूप’। परिसरभित्र एउटा बिहारले मापदण्ड अनुसार तीनतले भवन त बनाएको छ, तर तला भने असामान्य हिसाबले अग्ला छन्।

केन्जो टांगेको अवधारणा अनुसार लामो पोखरीबाट सीधै अशोक स्तम्भ देखिनुपर्थ्यो, तर लुम्बिनी विकास कोष व्यवस्थापनले त्यो दृश्य मेटिने गरी बीचमा एउटा ‘बेबी बुद्ध’ को मूर्ति भर्खरै खडा गरेको छ विदेशीको इच्छा र अनुदानमा। (क्षमा पूजासहित उक्त मूर्तिलाई अन्यत्र स्थानान्तरण गर्नु नै उचित हुन्छ।) लुम्बिनी उद्यानभित्र रिक्सा मात्र चलाउन दिएर स्थानीयमा अलिकति भए पनि आर्थिक ऊर्जा संचार भएको थियो। तर सुनिन्छ, कुनै दातृ संस्थाको सहयोगमा यहाँ विद्युतीय गाडी प्रयोग हुँदैछ। यस्तै, लामो पोखरीमा ठूलो आवाज गर्ने मोटरबोट चलाउने मूर्खता कसैले गर्‍यो, जबकि स्थानीयले हातैले खियाउने गरी डुङ्गा प्रयोग हुनुपर्थ्यो।

राजनीतिक असुरक्षा

किरण नेपाल
झन्डै २३०० वर्षअघि सम्राट अशोकले स्तम्भमा शाक्यमुनिको जन्मथलो देखाइदिएकै छन्।
लुम्बिनीको मर्म र अवधारणामाथि सबभन्दा ठूलो हस्तक्षेप हुने गरेको छ, राजनीतिज्ञहरूबाट। पञ्चायतकालमा राजदरबारका मनोनीतले आफूखुशी लुम्बिनी संचालन गर्दथे। तर, त्यतिबेला आजभन्दा बढी जवाफदेही थियो, कोषको नेतृत्व। लोकतान्त्रिककालको कोषको राजनीतिकरणमाझ् बुद्धस्थलले पाउनुपर्ने मर्यादा नेपालका (पहाडिया र मुख्यतः हिन्दूमार्गी) राजनीतिज्ञले दिनसकेका छैनन्। आफ्नो मान्छे पठाउने थलो बनाइएको छ, जहाँ राम्रै धनराशी खर्च गर्ने मौका मिल्छ। भिक्षु होउन् वा अरू, राजनीतिक हिसाबले नियुक्त हुन्छन् कोषमा; र न शाक्यमुनिको इज्जत हुन्छ, न नेपालको।

मुलुकभित्रको राजनीतिकरणलाई नियन्त्रण गर्ने नेपाली राजनीतिकर्मी र आम नागरिकको जिम्माको कुरा हो। बढ्दो बजारीकरण तथा अन्तर्राष्ट्रिय होडबाजीलाई नियन्त्रण गर्ने एउटा उपाय छ। राष्ट्रसंघका तेस्रो महासचिव बर्माका ऊ थान्तको पालामा अन्तर्राष्ट्रिय लुम्बिनी विकास समिति गठन भएको छ न्यूयोर्कमा, जसमा उल्लेख्य ‘बौद्धमार्गी’ संख्या भएका करीब २०–२२ मुलुकको प्रतिनिधित्व छ। राष्ट्रसंघीय मुख्यालयमा अरू कुनै सम्पदास्थलको लागि यस्तो छुट्टै समिति बनेको छैन। लुम्बिनीमा अन्तर्राष्ट्रिय भाँडभैलो तथा अतिक्रमण रोक्न यो सल्लाहकार समिति उपयोगी हुन सक्दछ, तर यसको बैठक नडाकिएको दुईदशक पुग्न आँट्यो। यसलाई ब्युँताउन नेपाल सरकार क्रियाशील हुनुपर्दछ।

माओवादी खेल

लुम्बिनीमा नकारात्मक भूमिका खेल्न कुनै दल पछि हटेका छैनन्, तर माओवादी नेतृत्वबाट भएको क्रियाकलाप सबभन्दा दूषित देखियो। पुष्पकमल दाहालले एक अस्पष्ट र अपारदर्शी चिनियाँ समूहसँग लागेर लुम्बिनीमा तीन अर्ब डलर बर्साउने खोक्रो आश्वासनका साथ भगवान बुद्धको जन्मस्थलोमा धावा बोलेका थिए।
यस्तै एउटा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई बोलाएर उनको काँधमा काँध मिलाउने पुष्पकमल दाहालको ध्येय थियो। युद्धकालको त्यत्रो ज्यादती र मरणको अभियन्ता दाहालको ओठबाट पश्चात्तापको ‘प’ समेत नझ्रेको अवस्थामा उनलाई लुम्बिनीको पवित्र परिसर विटुलो पार्न दिनुहुन्न भन्ने केही नागरिकको राय थियो।

अधिकारकर्मी सुबोध प्याकुरेल, संयुक्त राष्ट्रसंघका वरिष्ठ पूर्व पदाधिकारी कुलचन्द्र गौतम तथा यो पंक्तिकार समेत ‘लुम्बिनी बचाउन’ लाग्यौं, एक सशक्त अन्तर्राष्ट्रिय सूचनाको अभियानद्वारा। जुन अभियानको लागि कसैले ‘राष्ट्रविरोधी’ बिल्ला पनि लगाइदिए हामीलाई ती आरोपकारीले, जसलाई शाक्यमुनिको शान्ति, अहिंसा, सहानुभूति र सहकार्यको सन्देशप्रति के सरोकार। माओवादी पत्रिकाले त ‘जनदुश्मन’ कै पदवी भिराइदियो। माओवादीको जस्तो हस्तक्षेपबाट लुम्बिनी बचेको छ, यसबाट पाठ सिक्दै यो पुण्यभूमिलाई कहिल्यै त्यस्तो खतरामा पार्नुहुन्न।

बुद्ध आजको नेपालको भूभागमा जन्मनाले नेपाललाई बुद्धभूमि बनाइदियो। हामीले यसको पर्यटकीय र अन्य फाइदा त लिने नै हो; तर यो पूरै राष्ट्रवासीलाई कर्मकाण्ड र राष्ट्रवादभन्दा माथि अध्यात्मिक उचाइमा पुग्ने मौका पनि हो। ‘बुद्ध वाज बर्न इन नेपाल’ लाई शाक्यमुनिसँग सम्बन्धित गर्व र उत्साहको रूपमा लिन नसकिने होइन, तर यो नारा यसरी अगाडि आयो, मानौं बुद्धको उद्गमस्थल हामीबाट चोर्न कोही सफल नै भइसक्यो। यो नाराले नेपालीलाई बुद्ध दर्शनको गहिराइमा जाने बाटो देखाउँदैन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा बुद्ध नेपालमै जन्मेका हुन् भनेर घरी–घरी आश्वासन दिनुले राष्ट्रिय लज्जा जन्माउनुपर्ने हो हामी नेपालीमा। सम्राट अशोकले स्तम्भ खडा गरे झ्न्डै २३०० वर्ष अगाडि लुम्बिनीमा, हामीलाई प्रचारप्रसार तथा वकालतको लागि त्यतिले पुग्नुपर्ने थियो। तर ‘बुद्ध वाज बर्न इन नेपाल’ नारालाई मत्थर पार्न पनि मोदी नै चाहियो।

बजार, राष्ट्रवाद तथा वातावरणीय अतिक्रमणबाट लुम्बिनीलाई बचाउनु छ, विशेषगरी आउँदा दिनहरूमा जब वर्षेनि दशौं लाख मानिस लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर दर्शनका लागि ओइरिने छन्। हामीले त्यतिबेला मात्र लुम्बिनीको प्रतिरक्षा गर्न सक्छौं, जब शाक्यमुनिको सन्देशलाई आत्मसात् गरेका हुन्छौं। नत्र त लुम्बिनी मात्र बजारिया र राजनीतिक उपयोगितावादको थलो हुनेछ।

Post navigation

Previous Post:

Shrouded In Haze

Next Post:

Almost there, but…

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes