Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

युरोपमा दिल्लीकी केटी

March 27, 2014 by admin

हिमाल खबरपत्रिका (११ चैत्र, २०७०) बाट

यसअघि कंगना रनावतको फिल्म नहेरेको र शीर्षक पनि सामान्य किसिमको भएकाले विकास बहल निर्देशित ‘क्वीन’ हेर्न जाँदा म खासै उत्साहित थिइनँ। तर, १४६ मिनेटको फिल्मले पूरै बाँधेर राख्यो। एकदमै स–साना कुराहरूमा पनि ध्यान दिएर बनाइएको यो फिल्म लगभग त्रुटिरहित छ। फिल्ममा आउने प्रत्येक मोड रमाइला छन्।

भारत विभाजनका वेला पञ्जाबबाट आएका शरणार्थीको आश्रयस्थल रहेको रजौरी गार्डेन अहिले नयाँदिल्लीको प्रमुख हिस्सा भइसकेको छ। रानी आफ्नो परिवारसँग त्यहीं बस्छे। मध्यमवर्गीय परिवारको यो अटोरिक्सा र ‘किट्टी पार्टी’ को संसार मिठाई पसलले थेगेको छ। रवि (राजकुमार राव) सँगको वार्ताबाट शुरू भएको कथामा कंगनाको मध्यमवर्गीय परिवारकी चढ्दो उमेरकी अनभिज्ञ केटी रानीको भूमिका सशक्त छ। रविले विभिन्न खालका मिठाईलाई कुरा गर्ने निहुँ बनाउँदा रानीले ती कसरी बन्छन् भनेर विस्तृत व्याख्या नै गर्न थाल्छे। अन्ततः रानी पग्लिहाल्छे र विवाह तय हुन्छ।

विवाहपूर्वको समारोहको दृश्यबाट ‘ओपनिङ क्रेडिट’ शुरू हुन्छ फिल्म, तर रानी एक्लै पेरिस र आम्स्टर्डम ‘हनिमुन’ मा जान्छे। ऊ युरोप पुगेपछि बहल आफैंले लेखेको स्क्रिप्ट तीव्र रूपमा अघि बढ्छ। यद्यपि, फिल्ममा एउटै पेरिस जाने उडानका लागि तीन वटा विमान देखाइन्छ। बलिउडका फिल्महरूमा युरोपका रमणीय स्थलहरू प्रायः गीतमा ‘प्रप’ का लागि उपयोग गरिएको हुन्छ, तर ‘क्वीन’ मा पेरिस र आम्स्टर्डम कथाका पात्र नै बनेका छन्। युरोपेली शहरहरूको संस्कृति बुझेका निर्देशक बहलले त्यहाँका चल्तीका पर्यटकीय स्थलभन्दा गेस्टहाउस, होस्टेल, भोजनालय, रेल्वे प्लेटफर्म, नहर र सडकका दृश्यहरू प्रस्तुत गरेका छन्।

स्थानीयतासँग रानीको संसर्ग राम्ररी समेटेका छन् भने रानीको अन्तरमनलाई पनि नौलो परिवेशमा खुलाएका छन्, जस्तै ‘लिप्–टु–लिप् किस्’ बारे उनको चासो। कंगनाले आफूलाई आत्मविश्वासी अभिनेत्री देखाएकी छिन्, जब आफ्नो मुहारका दागहरू पनि ‘क्लोज अप फ्रेम’ मा देखिन्छ भन्नेमा धक मान्दिनन्। फिल्ममा सह–अभिनेत्री लिसा हेडनको रूप र हाउभाउ निकै चहकिलो देखाइँदा पनि उनलाई स्वीकार्य छ। रानीको पश्चिमा आधुनिकतासँगको अपरिपक्वता राम्ररी प्रस्तुत गरिएको छ। रानीले एक जना चासो नदेखाउने डच पुरुषलाई भारतका विभिन्न स्थानका ‘पानीपुरी’ को विभिन्न नामको बेलिविस्तार गर्छिन्।

एउटा दृश्यमा आफूले मिहिनेतका साथ तयार गरेका परिकारहरूमा रानीले स्वाद नपाएर मसला खन्याइदिंदा इटालियन सेफ अक्क न बक्क पर्छन्। आम्स्टर्डमको ‘सेक्स शप’ को सिनमा छुन पुगेको बहुलट्ठी पाठकले सिनेमा हलमै हेर्नुपर्छ, वर्णन गर्न सकिन्न। दर्शकहरूसँग राम्रो संवाद गर्न सक्नु उत्कृष्ट फिल्मको मानक हो, ‘क्वीन’ ले राम्रो संवाद र दर्शकको कदर गर्दछ। जस्तो, खाना खाएपछि डकार्नुलाई पश्चिमा सभ्यतामा नारीमुक्तिको संकेत भनेर बुझ्दा रानी त्यस्तो अभ्यास गर्छिन्। अर्को दृश्यमा रानी नाइट क्लबको स्टेजमा उग्र हुँदै लगाइराखेको कार्डिगन फुकालेर फनफनी घुमाउँदै फ्याक्नै लागेकी हुन्छे, तर सम्झिकन आफ्नो ह्याण्ड ब्यागमा खाँद्छे।

‘क्वीन’ मा पश्चिमा पात्रहरू अरू ‘मुम्बई ब्लकबस्टर’ मा जस्तो कमसल अभिनय गर्ने ‘टोकन’ पात्र छैनन्। दिल्लीका परिवार र लिसा हेडनपछि आम्स्टर्डम पुगेको पटकथालाई धान्ने तीन गैर–भारतीय पुरुष कलाकार, जो रानीका ‘होस्टेलमेट’ हुन्छन्। ती हुन्, जेफ्री हो (‘टाका’), मिश बोक्यो (‘अलेक्जेन्डर’) र जोसेफ् गुइटोभ (‘टिम’)। बहलले दर्शक माथि बलजफ्ती दृश्यहरू थोपरेका छैनन्। पेरिस पुगेकी एक्ली रानीले होटलको झ्यालबाट बाहिर हेर्दा दर्शकहरूलाई सिन् नदीको दृश्य देखाउँदा पनि हुन्थ्यो, तर क्यामेरा त्यतातिर लाग्दैन। त्यस्तै, आम्स्टर्डममा रानीले आफ्नो विवाहको निमन्त्रणा कार्ड सांकेतिक हिसाबले फालेको कुरा दर्शकले अनुमानबाट बुझ्नुपर्छ।

आफ्नो मनको तनावबाट भाग्न खोज्दा रानीलाई पेरिसको इफेलटावरले हरेक सडक र गल्लीमा माथिबाट पछ्याइरहेका दृश्य प्रभावकारी छ। इफेलटावरको यस्तो ‘सिनेम्याटिक’ प्रयोग अरू धेरैले गरिसकेका होलान् तर पनि ‘क्वीन’ मा यसको प्रयोग उत्कृष्ट लाग्छ। दुःखका क्षणहरू अनि उत्कृष्ट हास्य मिसाइएको ‘क्वीन’ लयपूर्ण छ। अलि मात लागेकी रानीले आफ्नो मोबाइल फोनमा मग्न पेरिसको एक ट्याक्सी ड्राइभरका अगाडि नृत्यका चालहरूको अभ्यास गर्छे।

रजौरी गार्डेनबाट युरोपेली शहरहरूमा आइपुगेकी रानी नयाँदिल्ली फिर्ता हुँदासम्म कुर्ता लगाउन छाडिसकेकी हुन्छे, उनको हेयर स्टाइल पनि अर्कै हुन्छ। सुरक्षाको लागि जस्तो गरी च्यापिरहने ठूलो झोला पनि हराउँछ। दुई घण्टाभन्दा बढी समयसम्म दर्शकलाई अडिग राख्न खुबी चाहिन्छ, जुन कंगना रनावत र विकास बहल दुवैले देखाएका छन्।

Post navigation

Previous Post:

Touch of class

Next Post:

The Tamor and Teesta

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes